रेडियो रामधुनी, झुम्का, सनसरी
थारु चलचित्र तथा सांस्कृतिक संघ जिल्ला सुनसरीले थारुहरुको महान पर्व ‘माघी/तिलासंक्राइत’ अर्थात् माघेसंक्रान्तिको अवसरमा म्युजिक भिडियो सार्वजनिक गरेको छ । गत साल नै सार्वजनिक हुने भनिएको ‘आब आब नाचम सबकोई माघिमे’ बोलको गीत कोभिड-१९ का कारण रोकिएको थियो । थारु लगायत अन्य समुदायले पनि अपेक्षा गरिएको यो माघी गीत यसपटक विमोचन कार्यक्रम गरि सार्वजनिक गरिएको छ । सुनसरीको झुम्का स्थित म्याजिक थ्रीडी सिनेमा हलमा उक्त गीतको विमोचन मंगलबार गरिएको हो । विमोचन कार्यक्रममा थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष परशुराम चौधरीले थारुको भाषा, संस्कृति संस्कारलाई बचाउन अब थारु युवाहरु यस्तै गीत संगीतको म्युजिक भिडियो ल्याउनु पर्नेमा जोड दिए। उनले भने, ‘ थारु समाज आफैमा प्रकृतिप्रेमी समाज हो। थारुको आफ्नै चाडपर्व र रीतितिथि भएकाले माघी विशेष चाड हो। यसलाई जोगाउनु आजको आवश्यक्ता रहेको छ।’
भिडियो हेर्नुहोस्
यस्तै विमोचन कार्यक्रममा विशेष अतिथि थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरीले थारुको माघीलाई मात्रै होइन अब सबै चाडपर्वलाई चिनाउने खालका गीत संगीतको सृजना हुनु पर्नेमा जोड दिए। उनले भने, ‘ थारुहरु तराइको आदवासी हुनुको नाताले उसको आफ्नै पहिचान छ। तर थारु अरुको लहैलहैमा बिग्रिदै गइरहेको छ सामाजिक रुपमा अनि सांस्कृतिक रुपमा। अब थारु समाजलाई सुधार्नु पर्ने बेला आएको छ। हामी सबै आफ्नो कला र संस्कृतिलाई जोगाउँदै समाजलाई पनि बचाऔ र पुस्तालाई थारु भाषाको पहिचान जोगाऔ।’ थारुहरु अब गीत संगीत लगायत सबै क्षेत्रमा आफै नेतृत्व लिनु पर्ने उनको भनाइ थियो। यस्तै थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीकी जिल्ला अध्यक्ष जानकी चौधरीले थारुको मौलिक पर्व माघीलाई गीतमार्फत चिनाउन पाउँदा निक्कै हर्षित भएको बताइन्। उनले भनिन् ‘ भाषा र संस्कारले भरिएको थारुहरुको माघी एउटा उत्सव भएकाले यसलाई हामीले म्युजिक भिडियोमार्फत लिएर आएका छौँ। माघी आँगनमै आइसकेकाले यसको गीतमा थारुको पहिचान पस्किएका छौँ।’ यो गीतको शब्द र संगीत सुनिल चौधरीले गरेका छन् भने उनी स्वयमले गाएका छन्। यस्तै उनलाई अनुमा चौधरीले मधुर स्वरले साथ दिएकी छिन्।
यस्तै गीतको म्युजिक भिडियोमा कलाकार जानकी चौधरी, दिनेश चौधरी, सबिता चौधरी, बिनोद चौधरी, सनम चौधरी, दिपिका चौधरी,गुन्जा चौधरी,कृष्ण चौधरी,एन्डिसा चौधरी,जनक चौधरी,ललिता चौधरी लगायतले अभिनय गरेका छन्। यस्तै उक्त भिडियोको निर्देशन जनक चौधरीले गरेका छ्न्। माघीको गीतको सुटिङ इटहरी उपमहानगरपालिका १८ स्थित राहीपूरमा भएको थियो। उक्त गीत यसै संघको आधिकारिक YouTube च्यानल TFCA Nepal मा हेर्न सकिने बताइएको छ ।
विमोचन कार्यक्रमका केहि झलकहरु