मोरङ-तस्करी गरी भित्र्याएको करिब ३ लाख रुपैया बराबरको सामानसहित प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार भारतसँग सीमा जोडिएको विराटनगर महानगरपालिका १६ दरैयाबस्तीका राहुल रायलाई १ लाख ६७ हजार रुपैया बराबरको लत्ता कपडासहित पक्राउ गरिएको हो।
यसक्रममा प्रहरीले २५ वर्षीय रायको साथबाट हातमा लगाउने चुरा समेत फेला परेको छ।
प्रहरीले मंगलबार राती पौने ११ बजे बिशेष सुचनाको आधारमा रायलाई घरबाट नै सामाग्रीसहित पक्राउ गरेको हो।
त्यसैगरी प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ९ बाट भन्सार छली ल्याईएको १ लाख ४५ हजार ३ सय बराबरको लत्ताकपडा सहित किरानाका सामानहरुसमेत बरामद गरेको छ। सडकमा वेवारिसे अवस्थामा राखिएको सामाग्री बरामद गरिएको प्रवक्ता राईले जानकारी बताए।
प्रहरीले बरामद गरेको सामाग्रीसहित पक्राउ परेका रायलाई आवश्यक कार्वाहीका लागि विराटनगर रानीस्थित भन्सार कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ।