झुम्का, नविन कुमार चौधरी
रामधुनी नगरपालिका वडा नं. २ शिव नगर गाउँमा निर्माणाधिन आदिबासी जनजाती संग्राहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माण समितिका अध्यक्ष फागुलाल चौधरीका अनुसार आयोजना सम्पन्न गर्ने मिति २०७६ साल चैत्र २९ सम्म रहेकोमा मुलुकमा बन्दाबन्दीले गर्दा समयाव्धी थप गरी जेठ मसान्त सम्म निर्माण पुरा हुने जानकारी दिनुभयो । नेपाल सरकारको तराई मधेश समृद्धी कार्यक्रमबाट ३५ लाख, रामधुनी नगरपालिकाबाट ३ लाख ५० हजार र जन सहभागिताबाट ७ लाख ७० हजार गरी जम्मा ४६ लाख २० हजार बजेटमा संग्राहालय निर्माण भइरहेको कार्यक्रमको निर्माण परियोजना बोर्डमा उल्लेख रहेको छ ।
निर्माण समितिका अध्यक्ष फागुलालले यस संग्राहालयमा आदिबासी थारु समुदायले परापूर्वकालको जिवन कालमा प्रयोग गरेका विभिन्न सामग्रीहरु राखिने जानकारी दिए । यहाँ भित्ते चित्रकलाका साथै दराजमा पौराणिक हस्तकलाका सामाग्रीहरु, दैनिक जिवनमा प्रयोग हुने पौराणिक साधनहरु, ओखल, ढिकी, जाँतो, जाल, डेली, घैल्ची, ढाकी, मुनहर, खरखर्या, बैलगाडा लगाएतका सामानहरुको संग्रह गरी राखिने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । संग्राहालयले आदिबासीको पहिचान झल्काउने दावी गर्दै पौराणिक धरोहरको रुपमा रहेको चिज बस्तु र जिवन शैलीलाई नयाँ पुस्ता माझ पुर्याउने उद्देश्यले यो संग्राहालयको निर्माण गर्नलागिएको बताउनुभयो । उहाँले यस संग्राहालयको लागि स्थानिय सरकार र नेपाल सरकारको तराई मधेश समृद्धी कार्यक्रम स्वरुप सहयोग गरेको र स्थानिय शिप तथा जन श्रमदानको भूमिका रहेको बताउनुभयो ।
त्यस ठाउँमा निर्माणाधिन हलमा आदिबासी थारु समुदायको जन्म देखी मृत्यु सम्मको जिवनचक्र, लोप भइरहेको पौराणिक संस्कृति, पौराणिक कालको जिवनशैली झल्किने गरी भित्तामा चित्रहरु बनाएको चित्रकार हरि शंकर चौधरीले जानकारी दिए । उनले भावी पिंढीलाई पौराणिक हस्तकला तथा चित्रकलाको शिप हस्तान्त्रणका साथै संस्कार र संस्कृतिको पहिचान गराउने उद्देश्यले यो संग्राहालयको ठूलो भूमिका रहेको बताए । थारु महिलामा पहिले देखी नै वंशानु गुण र शिपको विकास हुँदै आइरहेको भएतापनि विगत केही दशक देखी यो शिपको लोप हुँदै गइरहेको र आधुनिकताको विकास सँगै पहिलेका दैनिक जिवनमा प्रयोगहुने सामानहरु हराउँदै गइरहेकोले पनि यो संग्राहालयमा आफुले जानेको चित्रकला प्रस्तुत गरेको जानकारी दिए ।