रेडियो रामधुनी, नविन कुमार चौधरी,
झुम्का,
सुनसरी जिल्ला, रामधुनी नपा वडा नं. ३ बासिन्दा बाल कवि विनोद भट्टराईले ३४ वटा कृतिलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।

माता पिताको आशिर्वाद नामक लिखित पुस्तक कविता, गीत तथा गजलहरुबाट सिंगारिएको छ । बालबालिका, महिला, अपाङ्गता तथा सर्वसाधारणको व्यवहारिकतालाई समेटेर रामधुनी नगरको सेरोफेरोमा रहेर उक्त पुस्तक प्रकाशन गरिएको छ । बालबालिकालाई गर्ने व्यवहार, बालबालिकाको आनीबानी तथा समाजले अपाङ्गता भएका व्यक्तिहरुलाई गर्ने व्यवहारलाई समेटेर तिनीहरु प्रति भेदभाव हैन, माया र स्नेह दिनुपर्ने कुरालाई जोड दिदैं कविता तथा गीत लेखेका छन् । उनको कृतिमा राष्ट्र, प्रेम, मातृ प्रेम, असहाय प्रतिको प्रेम झल्किएको पाइन्छ भने राष्ट्र प्रेम र सृगार समेटिएको गजल लेखिएको पाइन्छ ।
वि. सं. २०६२ सालमा भोजपुर जिल्लाको झुल्केमा जन्मेका उनी हाल रामधुनी नपा वडा नं. ३ मा स्थायीरुपमा बसोबास गरिरहेका छन् । विभिन्न कार्यक्रम तथा प्रतियोगितामा पुरस्किृत समेत भइसकेका बाल कवि भट्टराईले पुस्तक प्रकाशन कार्यमा रामधुनी नगरपालिका, इटहरी नगरपालिका, विभिन्न बाल संगठन तथा अपाङ्ग संगठनले सहयोग गरेको कवि तथा गीतकार विनोद भट्टराईले बताए । उनले सहयोगी ती नगरपालिका तथा संगठनहरुलाई धन्यवाद दिएका छन् । उनका कविताहरुमा पढ्नु पर्छ ह, सक्छु म कि काहीँ पनि, नालापानी, सबै मिली चाल्नुपर्छ एउटै दह्रो पाइलो, मेरी सानी पुतली जस्ता कविता रहेका छन् भने गीतहरु अन्धा न भन, बारीको छेउमा थाङ्ग्रो, रामधुनीको तस्वीर, केही पनि काम छैन जस्ता शिर्षकका रहेका छन् भने गहकीला गजलहरु उनका पुस्तकमा पाउन सकिन्छ ।