झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिकाले नगरबासीहरु स्वस्थ्य सेवा बाट बञ्चित नहोस भन्ने उद्देश्यका साथ नौं वटै वडामा सेवाहरु संचलन गरिरहेको छ ।
कोरोना भाइरसको त्रासपूर्ण वातावरणमा विशेषगरी फिवर क्लिनीक मात्र संचालन गर्ने नेपाल सरकारको निर्देशन भएतापनि स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी नगरपालिकाले फिवर क्लिनिकका साथै आकश्मिक सेवा, परिवार नियोजनको सेवा तथा खोप सेवालाई निरन्तरता दिएको छ । पहिला जस्तो खुल्ला रुपमा ओपिडि सेवा भने दिइरहेको छैन । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रहरुले फिवर (ज्वरो) को लक्षण देखिएका विरामीहरुलाई थर्मल गन प्रयोग गरेर चेक जाँच गरिरहेको छ भने अन्य विरामीलाई परैबाट सोधपुछ गरेर विरामीको लक्षण अनुसार औषधि उपचारको सेवा प्रदान गरिरहेको छ । सुरक्षित मातृत्वको संरक्षणको लागि स्वास्थ्य केन्द्रले भने परिवार नियोजनको सेवा, नवजात शिशु, सुत्केरी आमाको स्वास्थ्य तथा खोप सेवा र आकश्मिक सेवा निरन्तर प्रवाह गरिरहेको स्वास्थ्य शाखा सह संयोजक नगेन्द्र पौडेलले जानकारी दिएका छन् ।