झुम्का, नविन कुमार चौधरी
सुनसरीको झुम्का क्वारेन्टाइनमा रहेको मानिसहरु मध्ये ५ जनाको आरडिटि परिक्षण पछि शुक्रबार बिदाई गरिएको छ ।
रामधुनी नपाका स्वास्थ्य शाखाको टोलीले गरेको आरडिटि परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि तिनीहरुलाई बिदाइ गरिएको हो । बिदाई गरिएकोमा भारत बसेर आएका इनरुवाका २ जना, भोक्राहा नरसिंहका २ जना र दुधगंजका १ जना रहेको थियो । यस भन्दा अगाडि पनि इनरुवाका २ जनाको आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ आएकोमा तिनीहरुलाई पनि बिदाई गरिएको थियो । उनीहरु बिरपुर नाकाबाट आएका थिए । यो सँगै झुम्का क्वारेन्टाइनबाट बिदा भएको संख्या ७ जना पुग्यो । क्वारेन्टाइनमा अब २३ जना रहेको छ । तिनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको क्वारेन्टाइन केन्द्रका स्वास्थ्यकर्मी प्रियङ्का चौधरीले जानकारी दिएकी छन् ।
दुई दिन अगाडि इनरुवाका २ जना र आज इनरुवा, दुधगंज र भोक्राहाका गरि ५ जनालाई आरडिटि परिक्षण पश्चात बिदाई गरिएको स्वास्थ्य शाखाका सह संयोजक नगेन्द्र पौडेलले जानकारी दिए । उनले बिदाई गरिएकालाई थप एक हप्ता सम्म घर मै सेल्फ क्वारेन्टाइनमा बस्न निर्देश गरिएको बताए । बाँकी रहेका २३ जनाको स्वास्थ्य स्थिति सामान्य रहेको र तिनीहरुलाई पनि १४ दिन पुगेपछि आवश्यक परिक्षण पछि बिदाई गरिने जनाए ।
क्वारेन्टाइनको पहिलो चरणमा ३५ जना रहेको थियो भने दोश्रो चरणमा ३० जना रहेको थियो । क्वारेन्टाइनमा १०० बेडको व्यवस्था गरिएको छ । खाश गरी तेश्रो मुलुकबाट आएको मानिसहरुलाई कोरोना संक्रमण हुन सक्ने जोखिम रहेकोले त्यसता व्यक्तिहरुलाई केन्द्रमा दुई हप्ता सम्म राख्ने गरिन्छ । रामधुनी नपाले नगरबासीहरुको स्वास्थ्यमा खराबी देखिएमा वा कोरोना संक्रमणको शंका भएमा तिनीहरुको सेवाकालागी एम्बुलेन्स सेवा पनि दिइरहेको छ ।