झुम्का, नविन कुमार चौधरी
रामधुनी नगरपालिका कार्यालयले राहतका लागि खरिद गरेको चामल मिश्रित भएको गुणासो आएपछि नगरपालिकाले छानविन प्रक्रिया अगाडि बढाएको छ ।
नगरपालिकाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा झुम्का स्थित गृहलक्ष्मी राईस मिल बिच ग्रेडिङ्ग मन्सुलि चामल खरिदका लागि दुई पक्ष बिच सम्झौता भएको जनाएको छ । सम्झौता विपरीत मिश्रित चामल रहेको मौखिक गुणासो आएपछि छानविन प्रक्रिया अगाडि बढाएको नगर प्रमुख जयप्रकास चौधरीको हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विभिन्न स्थानिय निकायमा राहतको चामलमा न्युन गुणस्तरको भएको गुणासोले स्वास्थ्यमा हानी भएको पाइएपछि नगरले ग्रेडिङ्ग चामल मगाएको चौधरीले जानकारी दिनुभयो । उहाका अनुसार एक बोरा चामल नगरपालिका कार्यालयमा नमुनाको रुपमा राखी यसलाई मध्यनजर गर्दै सप्लायर्सबाट अधिक्तम ग्रेडिङ्ग चामल सप्लाई गर्नुपर्ने माग गरिएको छ । नगरपालिकाले केही मात्रामा चामल मिलबाट उठाइसकेर नगरबासीहरुमा वितरण गरिरहेको र १० केजी र १५ केजीको प्याकेटमा कम्पलेन पाएकोले थप चामल खरिदमा नगरपालिकाको कर्मचारीको प्रत्यक्ष निगरानीमा चामल प्याक गरिरहेको नगर प्रमुख चौधरीले बताउनुभयो ।
नगरकी उपप्रमुख सविना चौधरीले राईसमिल सँग मन्सुली ग्रेडिङ्ग चामलका लागि सम्झौता भएको बताउदै मिलले ग्रेडिङ्ग चामल नै उपलब्ध गराएको र सानो प्याकेटमा चामल उपल्ब्ध गर्दा सादा बोरामा पठाएको जानकरी दिइन् ।

कार्यालयका प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यैपानेले पनि गृहलक्ष्मी राईस मिल र नगरपालिका बिच ५१ रुपैयाँ ७५ पैसामा प्रतिकेजी ग्रेडिङ्ग मन्सुली चामल खरिद गर्ने सम्झौता भएको बताउनुभयो ।
यसै सम्बन्धमा नेकपा रामधुनीका संयोजक रामकोइरालाले चामल ग्रेडिङ्ग नै रहेको जानकारी दिदैं मैले अन्यत्र बुझ्दा यो भन्दा पनि महङ्गो ग्रेडिङ्ग चामलको मुल्य रहेको जानकारी दिए । त्यसतै नेपाली काँग्रेसका रामधुनी नगर सभापति सुदिप अधिकारीले आपतको बेला ग्रेडिङ्ग भन्दा पनि सस्तो मुल्यको चामल खरिद गर्दापनि हुने जानकारी दिदैं हामीले पनि ४६ रुपैयाँ प्रति केजी मुल्य पर्ने चामल राहतको लागि नगरपालिकामा उपलब्ध गराएको जानकारी दिए ।
रामधुनी नगरपालिका कार्यालयको बैशाख ५ गतेको निर्णय अनुसार लकडाउनको अवस्थामा विपन्न परिवारका लागि राहत सामग्री खरिद गर्न बैशाख ७ गते एक लाख केजी परिमाणको ग्रेडिङ्ग मन्सुलि चामलका लागि लिखित दरभाउ प्रस्ताव गरेको थियो । सोही अनुरुप ४ वटा फर्मले दरभाउ सहितको प्रस्ताव पेश गरेता पनि सबै भन्दा न्युनतम मुल्य रु. ५१।७५ प्रति केजीका दरले प्रस्ताव पेश गरेका गृहलक्ष्मी राईस मिल र नगरपालिका विच सम्झौता भएको थियो । नगरपालिकाले १० केजीको १५००, १५ केजीको ३००० र २० केजीको २००० प्याकेट माग गरेको थियो । दोश्रो चरणको राहतको लागि भएको सम्झौता अनुसार स्थानिय झुम्का उद्योग बाणिज्य संघले बजार मुल्य भन्दा बढीमा चामल खरिद गरेको प्रति असन्तुष्टि जनाउदै नगरपालिकामा पटक पटक भएको छलफल पछि आइतबार विवाद टुगिंएको छ । विवादका कारण केही दिन रासन वितरण कार्य अबरुद्ध रहेको थियो भने सोमबार देखी रासन वितरण गरिने नगरपालिकाले जनाएको छ ।
यता गृहलक्ष्मी राईस मिलका संचालक बलराम चौलागाईले सम्झौता भए अनुसार नगरपालिकालाई आफ्नै ब्रान्डमा ग्रेडिङ्ग चामल उपलब्ध गराएको दावी गरे । उनले विवाद गर्ने केही साथीहरुलाई त्यही मुल्यमा रासन उपलब्ध गराउन भन्दा उपलब्ध गराउन नसकेको र आफुले गुणस्तर युक्त चामल उपलब्ध गराउँदा केही व्यक्तिले विवाद खडा गरेको जानकारी दिए । उनले आफुले उपलब्ध गराएको त्यही स्तरको चामल कम मुल्यमा उपलब्ध गराउन सके त्यसलाई सहर्ष स्वीकार गर्ने दावी गर्नुभयो ।
यसै बिच रामधुनी नगरपालिकाले पहिलो चरणमा वितरण गरेको रासन हुनेखाने, आफन्त र पार्टिका प्रतिनिधिहरुलाई वितरण गरिएको गुणासो आएको छ । यसविषयमा नगरप्रमुख सँग बुझ्दा उहाँले आफुले वडाध्यक्षहरुलाई पारदर्शि तरिकाले विपन्न परिवारलाई राहत वितरण गर्न जानकारी गराएको बताउनुभयो । उहाँले राहत पाएका व्यक्तिहरुको नामाबली ७ दिन भित्र नगरपालिकामा बुझाउनु पर्ने बताउदै विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो ।