झुम्का, नविन कुमार चौधरी
कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको महिना भन्दा बढी भइसक्दा अति विपन्नको पहिचान गरी राहत वितरणको कार्यलार्य अगाडि बढाउनु पर्दथ्यो भन्ने धारणा सबैको छ । समाजसेवी, राजनितिक दल, सम्पन्न व्यक्ति, अगुवा मानिसहरु सबैको भनाई यहि नै छ कि अति विपन्न, दलित, दैनिक ज्याला मज्दुरी गर्नेले राहत पाउनु पर्दछ । तर राहत वितरणको बेला वडा कार्यालयबाट लगत संकलन गरिंदा सबै विपन्न नै छु भन्छन् । राहत लिने बेलामा सबैले आ आफ्नो ठाउँबाट म विपन्न होइन, म भन्दा पनि विपन्न कोही छन भनेर आफ्नो भन्दा अरुको सिफारिस गरेको भए सायद पहिलो चरणको राहत वितरणमा कठिनाई पनि हुदैनथ्यो होला र वडामाथि आरोप पनि लाग्न पाउँदैनथ्यो होला । हुनत लकडाउन जति लम्बिदै गयो त्यती नै विपन्न र सम्पन्न मानिसको जिवनयापनमापनि समस्या बढ्दै जानेहो र राहत भन्नेकुरा महिना वा वर्ष दिनको छाँक टार्न दिने कुरा पनि होइन । राहत सबैले पाउनु पर्ने हो तर कस्तो राहत कस्ले पाउने हो पहिचान गर्न जरुरी हुनजान्छ ।
विपन्नले खाद्यान्नको राहत, किसानले खाद्यमल, विउको राहत, सर्वसाधारणले दैनिक उपभोग्य सामानको राहत, स्वास्थ्यकर्मीले पिपिई किट तथा सुरक्षात्मक सामाग्रीको राहत, विरामीले औषधि उपचारको राहत, कर्मचारीले थप सुविधाको राहत, सुरक्षाकर्मीले थप पारिश्रमिकको राहत, जनप्रतिनिधिले विश्वासको राहत, व्यवसायीले व्यापारको राहत पाउनुपर्ने हो । र यस अवस्थामा राहत राहतको रुपमा हुनुपर्दछ, कसैले पनि राहतलाई सुविधाको रुपमा उपभोग गर्न पाउनु हुदैन । तर राहत राहतको रुपमा पाउन यसको यथोचित व्यवस्थापन हुनु जरुरी रहनजान्छ । जुन हरेक स्थानिय निकायले गर्नु जरुरी रहेको छ ।
नगरपालिकामा आश्रित कर्मचारी, स्वास्थ्यकर्मीले विपदको अवस्थामा के के सुविधा पाउनुपर्ने हो नगर प्रमुख संग कबुल गराई सकेको होलान् । सुरक्षाकर्मीलाई सरकारले जोखिमको थप पारिश्रमिकको व्यवस्थापन गरिसकेको होलान र त्यो पाउनुपनि पर्दछ । सम्पन्न परिवारमा समस्या भएन, खाद्यान्न मौज्दात होला, नगद, बैक पनि मौज्दात होला, ठूला व्यवसायीहरुको काम पनि चलिनै रहेको छ, लकडाउनको बेला मौज्दात सामान र म्याद सकिएका सामान पनि राम्रो मुल्यमा बेच्न पाएकै छ होला । बाँकी रह्यो सर्वसाधारण जनता, सानातिना व्यापारी, जस्ले लकडाउनमा नत काम गर्न पाएका छन, न व्यापार गर्न पाएकाछन, नत सरकारले राहत सुविधा दिने भएका छन ।
किसानको समस्या बेग्लै छ, घरमा उब्जेको धान छ, गहुँ पनि छ, अलिअलि साग तरकारी पनि छ, धान गहुँ हुनेले न बेच्न पाएका छन, न कुट्न पाएका छन् । तोरी उब्जेको छ तेल भने किनेर खाने अवस्था छ । किनेर खान धान बेच्नु प¥या छ । बन्दाबन्दीको बेला साहुले दाम दिदैन, बेच्न पनि निकै कसरत गर्नुपर्ने अवस्था छ । खेत लगाउनु पर्ने छ, विउ मलको अभाव छ, बारीमा सब्जी छ, सब्जीमा किरा लागेको छ, औषधिभने अभाव छ । खेती छ खेत खाने कुरा भएन, खेत हुनेलाई सरकारले राहत दिने चलन छैन । किसानको घरमा जे भएपनि अलिअलि खाद्यान्न त तै पनि छ होला । अब कुरा गरौं अति विपन्न वर्गको जो विहान चुलामा खाली भाडो चढाएर मज्दुरी गर्न निस्किन्छन, बेलुका काम सकेर खर्च जुटेमा खाना पाक्छ । हैन भने आजको दिन यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउदै भोकै पनि सुत्ने गर्दछ । विपन्नको अर्को ठूलो समस्या परिवार संख्या । जति धेरै विपन्न त्यती नै धेरै बालबच्चा । आफु त भोकै बसिएला तर अबोध बालबालिकालाई कसरी बुझाउनु आजको दिन यस्तै लेखिएको थियो, आज भोकै सुतौ भोली खानेकुराको जोहो गरौंला भनेर । त्याहाँबाट सुरु हुन्छ भोकको कथा अनि रोगको कथा, चोरीको कथा, अपराधको कथा तर ती अति विपन्न गरिबका कथा व्यथा सुन्ने फुर्सद कस्लाई पो छ र यहाँ ?
विपन्नहरु प्रश्न लिएर बसेकाछन यतिखेर, जतिबेला हाम्रो भोटको खाँचो थियो त्यतीबेला खर्च हुँदाहुँदै पनि यस, पाँच सयका हरिया नोट देखाए, चुनाव स्थलमा मासु चिउराको भतेर पनि खुवाए तर यतिखेर हामी भोकै हुँदा कोही जनप्रतिनिधि हाल चाल समेत सोध्न आउँदैनन् । महिना अगाडि मास्क दिएको थियो, ल है भिडभाडमा नजानु, जानै परे यै मास्क लगाएर जानु, लकडाउन लम्बियो भने नगरपालिकले राहत खर्च पनि दिन्छ भनेर आशा देखाइयो । राहतको रुपमा प्रति परिवार कोइले १०, कोइले १५ र कोइले २० किलोको दरले चामल पनि नपाएको होइन, विपन्नहरुले भन्छन् । कोरोनाबाट बच्न दुईवटाका दरले साबुन पनि बाँडेको थियो वडा कार्यालयले । तर सहजै अनुमान लगाउन सकिन्छ २० किलो चामल कति दिन पुग्छ, दुइवटा साबुनले एक महिना मास्क धुदैमा सकिन्छ, हात केले धुने, लुगाफाटा केले धुने, हामी सँग दुई चार जोरा लुगा पनि त छैन, फेरीफेरी लगाउने भनेर । उनीहरु भन्छन, हामीलाई दाल चामल चाहिएको हैन काम चाहिएको छ । काम दिन मिल्दैन भने महिना दिनको छाँक टारी दिनुहोस् । लुगा फाटा च्यातिएकै लगाउँला बरु दिनको एक छाँक नुन भात दिनुहोस् ।
रामधुनी नगरपालिका वडा नं. ९ धुराहामा जम्मा १२५ घर परिवारमा विपन्न परिवार संख्या ५६ जना रहेको छ, विपन्नमा पनि अति विपन्नको संख्या ४० भन्दा बढी छ , धुराहा स्थित सुकुम्बासीहरुको व्यथा यस्तो छ ।
रुकमनी चौधरीको ५ जनाको परिवार रहेको छ, काम भने फ्याटी«मा गर्ने गरेको थियो, एक महिना देखी काम बन्द छ । उनी भन्छन्, “वडाबाट राहत स्वरुप २० किलो चामल, दाल, साबुन, नुन, तेल दिएको थियो, लकडाउन लम्बिदै गइरहेकोले त्ही चामल अलिअलि गर्दै खाँदै थियौं अव त्यो पनि सकिन आँटेको छ ।” त्यही बसोबास गर्ने अर्का सुकुमबासी सिटि सफारी चालक प्रेम चौधरीको व्यथा पनि उस्तै छ । उनको परिवारमा ४ जना सदस्य छन् । उनी ओखलमा दुईमाना जति गहुँ कुटेर बसिरहेका थिए । वडाले १५ किलो चामल र अन्य वस्तुहरु उपलब्ध गराएको थियो । उनी भन्छन्, “एक महिना भयो सफारी चलाउन पाएको छैन, वडाले दिएको राहत सकिसक्यो, ऋण सापटि माग्यो पाइदैन, अब यही जाउलोको आस छ हेरौं कति दिन पुग्छ । वडाले अर्को चरणको राहत पनि बाँड्ने भनेको थियो तर कहिले हो थाहा छैन । मर्नु न बाँच्नु भएको छ । ” उनी संगै धुराहा गाउँमा बसोबास गर्ने ५६ घर परिवारको अवस्था यस्तै रहेको छ । थारु महिला सभाकी सदस्य रहेकी मञ्जु चौधरी भन्छन् । “वडाले राहतको रुपमा दिएको खाद्यान्न सकिसकेको छ, काम गर्न पाएको छैन, विपन्नहरुको अवस्था साह्रै कठिन सँग वितिरहेको छ । गर्भवति महिलाको लागि विशेष सुविधा पनि छ भन्ने सुनेको थिए, तर अहिले सम्म राम्ररी पाएको अवस्था छैन् । ६।७ वटा अण्डा दिइन्छ अरे त्यसले के हुन्छ ? ” उनी दोश्रो चरणको राहत वितरण कार्य पनि छिट्टै थालेको भए विपन्नलाई जिवन यापनमा सहज हुने बताइन् ।
वडा नं. ९ अन्तर्गत कै मर्चैयामा रहेको करिव २५० घर परिवार रहेका मुसहर समुदायको कथा अझ दर्दनाक रहेको छ । सरकारले केहीलाई पक्की घरको व्यवस्था पनि यस अघि गरिदिएको छ । तर भोको पेट पक्कि घरमा बसेर निन्द्रा नलाग्दो रहेछ । चुलोमा भाडो चढाएर मज्दुरी गर्ने यी मुसहर समुदायमा दश वा बिस घर परिवारको हैन सबैको अवस्था त्यसतै रहेको छ । उनीहरु यतिबेला मुस्किलले एक छाँक टार्ने गर्दछन् ।
त्यहीका बासिन्दा ५० वर्षिय पलटन सदाले आफुले खैनि खाएर भएपनि बस्छु तर केटाकेटीलाई के खुवाउने भनेर समस्या पोखेका छन् । लकडाउनको बारेमा राम्ररी थाहा पनि नभएका उनले भने “लकडाउन भन्छ, घरबाहिर जानुहुदैन, बाहिर निस्कियौ भने पुलिसले धपाउँछ, वडाले दिएको राहत उहिले सकिसक्यो, वडामा कुरा राख्दा ऋण सापट चलाउनु भन्छ, गर गिरहतलाई सापट पैचो माग्योभने काँ बाट दिनु भन्छ, विजोग छ । कसरी बाँच्नु, जहान परिवारलाई के खुवाउनु, यो कोरोना रोक्न मास्क दिएको हो कि खाना नखाओस भनेर मुखमा जावी लगाएको हो, बुझ्नै गाह्रो छ । दोश्रो चरणको राहत २० गते पछि मात्र आउँछ अरे भन्छन् । ”
सोही ठाउँ बस्ने अचकमैन ऋषिदेवको अवस्था झनै गम्भिर छ । उनकी छोरी भरखरै मात्र सुत्केरी भएको छ । जुम्लिहा बच्चा पाएकी उनले एउटा बच्चा मात्र जिवित रहेको बताएकिछिन । सुत्केरी हुनुअघि वडाले केही अण्डा दिएको थियो, राहतको दाल चामल सकिसकेको छ । सुत्केरी गराउन ऋणपान गरेर एम्बुलेन्स गरि अस्पताल पठाएको उनले दुखेशो पोखे । विपतको अवस्थामा वडा तथा नगरले एम्बुलेन्सको व्यवस्था गरिदिन्छ भन्ने समेत थाहा नभएको उनले एम्बुलेन्स भाडा त सापटी लिएर तिरे तर सुत्केरी आमा र नवजात शिशुको पालन कसरी गर्ने भनी चिन्ताले निन्द्रा समेत नलाग्ने गरेको उनी बताउछिन् । लकडाउनको बेला जनबोइन जान नपाएकी उनले अहिलेको समस्या मागी चागी चलाइरहेको बताइन् । सुत्केरी अवस्था देखेर केही सहयोगी हाथहरुले एक दुुई छाँक सहयोग पनि गरेको बताए तर लकडाउनको यस्तै अवस्था रहेमा कसरी बाँच्ने भनी चिन्ता व्यक्त गरेकी छीन ।
यस्तै समस्या अर्का एकजना बाबुको क्रियामा बसेको परिवारको रहेको छ । ४० वर्षिया ज्ञानचन सदाको बुबाको यतिखेर मृत्यु भएकोले क्रिया कर्म गर्नु पर्ने छ । ६५ वर्षिय कैलु सदाको आइतबार कालगतिले निधन भएको उनका छोरा ज्ञानचन सदाले बताए । पिडित ज्ञानचन सदा भन्छन्, “सामाजिक रिति अनुसार मरेको आत्मा शान्तिको लागि पुजापाठ, दानपुन गर्नुपर्ने, भोज भतेर खुवाउनु पर्ने हुन्छ । आफैलाई खाने चामल छैन बुबाको क्रिया कसरी गर्ने, बुबाको बृद्ध भत्ता पनि निकाल्न पाएको भए भोजकाज गर्न हुन्थ्यो तर बन्दाबन्दिले त्यो पनि निकाल्न पाएको छैन । उनी भन्छन्, वडाले दिएको १५ किलो चामल उहिले सकिसक्यो के गरी कसो गर्ने थाहा छैन् । ”
यस सम्बन्धमा रामधुनी नगरपालिका वडा नं. ९ को समस्या वडाध्यक्ष घनश्याम चौधरीलाई जानकारी गराउँदा उहाँले प्रभावित ति विपन्नहरुलाई विहिबार बाटै राहत वितरण गरिएको जानकरी दिनुभयो । उहाले विहीबार मुसहरीका १८० घर परिवारलाई राहत वितरण गरिसकेको जानकारी दिनुभयो ।


यी त भए रामधुनी नगरपालिकाका ९ नं. वडाका मुसहर समुदायका कथा व्यथा रामधुनी नगर, विपन्न र ग्रामिण क्षेत्र भएको पालिका हो । यस्तै दलित र विपन्न परिवार धेरै संख्यामा रहेका छन् । नगरपालिकाले ती गरिबको चुलो बाल्ने बेला भएको छ ।
रामधुनी नगरपालिकाले भने यसैकुरालाई बुझ्दै बैशाख १६ गते मंगलबार बोर्डको बैठक बसी दोश्रो चरणको राहत वितरण कार्य थाल्न निर्णय गरिसकेको छ । विभिन्न वडाका विपन्न परिवारलाई बुधबार देखी नै राहत वितरण कार्य भइरहेको नगर प्रमुख जयप्रकाश चौधरीले बताउनु भयो । उहाँले दोश्रो चरणको राहतका लागि नगरले थप १ लाख किलो ग्राम चामल टेन्डरमार्फत खरिद गरि वितरण कार्य थालेको जानकारी दिनुभयो । दोश्रो चरणको राहतमा नगरले चामल र नुन मात्र वितरण गर्ने जानकरी दिनुभयो ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यैपानेले सो विषयमा जानकरी गराउँदै पहिलो चरणको राहत वितरणको तथ्याङ्कलाई आधारमानी उक्त एक लाख किलो चामलको नगरले व्यवस्थापन गरेको जानकरी दिनुभयो । चामलको दररेट सम्बन्धमा टेन्डर आव्हान गरेपछि ४ वटा राईस मिलले टेन्डर हालेको र त्यस मध्ये सबैभन्दा कम रेट गृहलक्ष्मी राइसमिलले रु.५१।७५ प्रति किलोको दरलाई नगरपालिकाले सदर गरेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणको राहत वितरणको नगरबाट अनुगमन समेत गरिएको र हुने खानेलाई राहत वितरण गरिएकोलाई दोश्रो चरणको राहतबाट नाम कटाएको समेत जानकरी दिनुभयो । पहिलो चरणको राहतमा नगरले नौं वडा मिलाएर ७४०० घर परिवारलाई ९८ हजार ६० किलोग्राम चामल, १२ हजार ३३ किलो दाल, २ हजार ८८९.५ लि. तेल, ११ हजार ५५८ वटा साबुन, ५,७७९ किलोग्राम नुन वितरण गरिएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । न्यैपानेका अनुसार वडा नं. ५, ८ र ९ ले दोश्रो चरणको राहत वितरण कार्य थालिसकेको जानकरी दिनुभयो । बाँकी वडाका वडाध्यक्षलाई पनि राहत सामान लैजान खबर गरिसकेको उहाँले जानकरी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen