झुम्का, नविन कुमार चौधरी
दैनिक मज्दुरी गर्ने विपन्न परिवारले दोश्रो चरणको राहत छिट्टै पाउने भएको छ । रामधुनी नगरपालिकाले दोश्रो चरणको राहत वितरणका लागि मंगलबार बोर्ड बैठक बस्ने भएको छ ।
पहिलो चरणमा करिव ७४०० घर परिवारलाई नगरपालिकाले राहत वितरण गरिसकेको र थप राहत वितरणकार्य भोलीको बोर्ड बैठक पछि मात्र गरिने पूर्वाधार विकास संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष डेगराज फुयाँलले जानकारी दिनुभयो । दोश्रो चरणको राहतपनि पहिले पाईसकेका घरपरिवारले नै पाउने भएको छ । फुयाँलले बोडको बैठकले राष्ट्रिय मापदण्डलाई ध्यानमा राखेर गरिब तथा दैनिक ज्याला मज्दुरी गर्नेलाई राहत सामाग्री वितरण गर्ने जनाएको छ ।
रामधुनी नगरपालिकामा मौज्दातकोरुपमा रहेको खाद्यान्नका साथै थप खाद्यान्नको व्यवस्था नगरपालिका वा केन्द्रले उपलब्ध गराउने अवस्था देखिन्छ । नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रामधुनी नगरपालिकामा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उपलब्ध गराएको खाद्यान्नमा चामल मात्र करिव ४०,७०० किलोग्राम, दाल ९४० किलो ग्राम, १००० किलो ग्राम नुन, ३६० लिटर तेल र अन्य सामानहरु अण्डा, चिउरा, साबुन प्राप्त भएको छ भने नगदको रुपमा एकलाख ९२ हजार प्राप्त भएको छ । जस मध्ये बैशाख १२ गते सम्ममा नगरपालिकाको मौज्दातमा चामल २०,२०० किलोग्राम, दाल ५४० किलो, नुन ५०१ किलो, तेल ११० लिटर रहेको देखिन्छ । यसका साथै विभिन्न संघसंस्थाहरुले वडालाई समेत नगद तथा खाद्यान्न हस्तान्त्रण गरिएको छ । जे भएपनि मौज्दातमा रहेको खाद्यान्न दोश्रो चरणको राहतको लागि भने प्रयाप्त देखिन्दैन । वडाध्यक्ष फुयाँलका अनुसार भोली बस्ने बैठकले थप श्रोतको व्यवस्थापन गर्ने र अति प्रभावित वडाकाबाट राहत वितरणको कार्य अगाडि बढाउने जानकारी दिनुभयो । साथै उहाँले केही वडाहरुमा वास्तविक विपन्नले भन्दा सम्पन्नले राहत पाएको आशंका भएको बताउदै सो कुराको अनुगमन नगर प्रमुख तथा उप प्रमुख बाट गरिनुपर्ने समेत जानकारी दिनुभयो ।
दोश्रो चरणको राहत वितरणको लागि बैठक बस्ने तयारी भइरख्दा समेत अहिले सम्म भने राहत वितरण कार्यको अनुगमन भएको छैन् । फुयाँलका अनुसार बैशाख ६ गतेको बोर्डको बैठकले अनुगमन गर्नुपर्ने निर्णय गरिए पनि अहिले सम्म अनुगमन नभएको जानकारी दिनुभयो ।
एता विपन्न परिवारले राहत पाउने निश्चित भएता पनि कहिले देखी पाउने भन्ने आशा विपन्नवर्गको रहेको छ । पहिलो चरणको चामल सकिसकेको छ, लकडाउन खुल्ने अवस्था छैन, जनतालाई रोगले मार्ने डर त छदैछ, रोगले भन्दा भोकले मार्ला भन्ने डर त्यो भन्दा पनि बढि छ । पहिलो चरणको राहत मज्दुरले मात्र पाएतापनि किसानहरुले पनि पाउनुपर्ने माग किसानहरुको छ ।
रामधुनी नपाका प्रवक्ता समेत रहनु भएका रामधुनी वडा नंं. ६ का वडाध्यक्ष हेमनारायण राजधामीले दोश्रो चरणको राहतको लागि बोर्डको बैठकले नै निर्धारण गर्ने जनाएकोृ छ । उहाँले संघ संस्थाले उपलब्ध गराएको राहत सामान प्रयाप्त नभएकोले थप कोषको व्यवस्थापन गरिने अपेक्षा गरिएको जानकारी दिनुभयो ।