झुम्का, नविन कुमार चौधरी
सुनसरीको रामधुनी नगरपालिका अन्तर्गतका नौं वटै वडा वालमैत्री वातावरणयुक्त घोषणा गर्ने लक्ष्य लिएबमोजिम वडा नं. ९ घोषणाको अन्तिम चरणमा रहेको छ । विपन्न तथा दलित बस्ती, ग्रामिण तथा जनचेतनाको कमिका कारण बाल बिवाह, निकृष्ट बाल श्रम, शैक्षिक अनियमितता जस्ता जटिल चुनौतिका बाबजुत पनि सूचकहरु ८० प्रतिशत भन्दा बढी पुरा भएको नगर स्तरिय अनुगमनटोलीको ठम्याइ रहेको छ ।
फागुन ३० गते शुक्रबार वडा नं. ९ का सामुदायिक विद्यालय, संस्थागत विद्यालय, पसल तथा टोलमा अनुगमन पश्चात गरिएको छलफल तथा अभिमुखिकरण कार्यक्रममा वडाले प्रस्तुत गरिएको रिपोर्टले सो कुरा बताएको हो । कार्यक्रममा बालमैत्री स्थानिय शासन स्थापनाका लागि वडाले सक्रियता पुर्वक योजना बद्धढंगबाट सूचकहरु पुरा गरेको बताएको छ । विद्यालय तथा टोलटोलमा बाल क्लव गठन तथा विस्तार, लगानी योजना, रणनितीक योजना, तालिम तथा अभिमुखिकरण, अभिभावक भेला तथा अभिमुखिकरण, क्लवको सक्रियतामा विभिन्न कार्यक्रम, जनचेतना मुलक कार्यक्रम तथा सडक नाटक, ¥याली तथा वडाको प्रत्यक्ष अनुगमन द्वारा बालमैत्री घोषणाका सूचकहरु पुरा गरिएको जनाएको छ ।
उक्त सूचक पुरा गर्ने क्रममा विभिन्न चुनौतीहरु, सामाजिक रितिरिवाज, परम्परा, आर्थिक अवस्था आदीले सूचक पुरा गर्नमा समस्या खडा भएको र अझ पनि कतिपय वस्तीमा सूचक पुरा गर्न गाह्रो भएको छलफलमा आएको थियो । जसको लागि सम्पूर्ण पक्ष बालबालिका, शिक्षक, अभिभावक, जन समुदाय, संघसंस्था तथा जनप्रतिनिधि तथा सरोकारवालाहरुको साथ सहयोगको अवश्कता रहेको वडा अध्यक्ष घनश्याम चौधरीले अनुरोध गरेका थिए ।
नगर उपमेयर सविना चौधरीले वडाको प्रगति प्रति आभार व्यक्त गर्दै बालमैत्री वडा घोषणाको अग्रिम शुभकामना सहित लाभदायी सुझावहरु दिएका थिए । उहाँले जनचेतनामुलक कार्यक्रमहरु गर्दा गर्दैपनि परिवारका अभिभावकमा समझदारी नहुदा समस्या उत्पन्न हुनेभएको बताउदै दम्पत्तिलाई संगै राखेर अभिमुखिकरण गराउनु पर्ने आवश्यकता आल्याउनुभयो । साथै उहाँले नगर भन्दा पनि वडा स्तरिय कार्यक्रमलाई प्राथमिकता दिएमा प्रभावकारी हुने बताउनुभयो । सामाजिक चुनौतीको सामना गर्न जनतामा चेतना अभिवृद्धि निरन्तर हुनुपर्ने बताउँदै प्रचार प्रसारलाई तिब्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा शाखा प्रमुख राजन कुमार गेलालले चेकलिस्ट रिपोर्ट प्रस्तुत गर्दै वडा नं. ९ ले बालमैत्री वातावरणको १६ खुड्कीला तथा ४० सूचक परिपुर्तिमा सक्रिय रहेको ठम्याउदै घोषणाकोलागि प्रयाप्त भएको बताउनुभयो । सामाजिक तथा शैक्षिक चुनौतीहरु बालमैत्री वडा घोषणाका प्रमुख बाधक भएकोले अझै प्रभावकारी र निरन्तर क्रियाकलाप गर्नुपर्ने सुझाव दिनुभयो । यस वडाको रिपोर्टले प्रत्येक विद्यालयबाट सूचक विवरण उपलब्ध गराएको पाइएकोले साकारात्मक परिवर्तण भएको जिकिर गर्नुभयो ।
शुक्रबार गरिएको नगरस्तरिय अनुगमनले विद्यालयहरुमा बालमैत्री धारा, चर्पी, बालविकास कक्षाकोठा, सरसफाइमा ध्यान दिइएको, महिला पुरुषको अलग चर्पी, महिनाबारी अवस्थाको साबधानीका लागि सेनेटरी प्याड तथा रेष्टरुमको व्यवस्था, फुलबारी तथा खेल मैदानको व्यवस्था पाईएको छ । त्यसतै सामाजिक चेतनाको कार्यक्रम, सडक नाटक, पर्चा पंपलेट टाँस, अभिभावक शिक्षा कार्यक्रम गरिएको पाइएको छ । जिल्ला स्तरिय अनुगमन पश्चात वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने जानकारी नगरश्रोतले दिइएको छ ।