झुम्का, नविन कुमार चौधरी
थारु संस्कार तथा रितिरिवाजलाई समेटेर तयार गरिएको अखारी पसारी, शिरुवा उसारी नामक वृत्तचित्र रिलिजको तयारीमा छ । फागुन २१ र २२ गते दुई दिन दिउसोको दुईवटा सोमा झुम्का स्थित म्याजिक सिनेमामा प्रदर्शन हुने, सोमबार पत्रकार सम्मेलन गरी वृतचित्र निर्माता, निर्देशकले जानकारी दिएको छ । २१ गते हलमा विहान ११ बजे औपचारिक कार्यक्रम गरी १२ बजेको सो र ३ बजेको सोमा प्रदर्शन हुने सम्मेलनमा जानकारी दिनुभयो ।
थारु समुदायका चाँडपर्व, रितिरिवाज, संस्कार, संस्कृति तथा परम्परा वर्षका १२ है महिना कुन–कुन र कस्ता छन् । र ती सबैको महत्व तथा औचित्य के हो ? भन्ने विषयलाई समेटेर तयार गरिएको वृत्तचित्रमा थारुहरुको अखार देखी चाँडपर्व शुरु हुने र वैशाखमा सम्पन्न हुने कुरालाई समेटिएको छ । रामजानकी युवा क्लव रामधुनी ७ खरहीटोलको प्रस्तुतीमा निर्माण गरिएको सो वृत्तचित्र स्थानिय फुलो चौधराइनको लेखन, रेणु चौधरीको निर्माण तथा पर्शुराम चौधरीको निर्देशनमा तयार गरिएको सो वृत्तचित्र करीव ५ लाखको लागतमा निर्माण भएको निर्देशक पर्शुराम चौधरीले जानकारी दिनुभयो । थारु समुदायको सम्पूर्ण रितिरिवाज र चाँडपर्वलाई पुर्वमा मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी तथा दाङ लगाएतको पश्चिमी जिल्लाको थारु संस्कारलाई समेटिएको चौधरीले जानकारी दिनुभयो ।
वृत्तचित्र लेखक फुलो चौधराइनले एक शुभकामना आदानप्रदान कार्यक्रमबाट प्रभावित भएर थारुहरुको चाँड पर्व दशै तिहार, छट, एकादशी मात्र नभएर अखारी, लगपाँचे, लगाएत बहरजत्रा सम्म रहेको कुरालाई मनन् गर्दैै थारुहरुको चाँड, पर्व तथा रितिरिवाजलाई समेटेर वृत्तचित्र बनाउने योजना आएको बताइन् । उनीले यो वृत्तचित्र निर्माणमा ठूलो चुनौतीहरुको सामना गर्नुपरेको र अथक तथा निरन्तर प्रयासले सो सम्भव भएको जानकारी दिइन । यस कार्यमा सघाएकोमा विशेषगरी अग्रज तथा थारु फिल्म जगतमा चर्चित पर्शुराम चौधरी लगाएत सहयोगी साथीहरुलाई धन्यवाद व्यक्त गरेकी छिन् । वृत्तचित्र गत २०७५साल कार्तिक २१ गते लक्ष्मी पुजाको अवसरमा रामधुनी नगर उप प्रमुख सविना चौधरीको प्रमुख आतिथ्यतामा शुभ साइत गरिएको थियो । यस वृत्तचित्रको लागि रामधुनी नगरपालिका तथा वडाहरुले समेत आर्थिकरुपले सहयोग गरेको उनले जानकारी दिए ।