झुम्का, नविन कुमार चौधरी, फागुन ७
सुनसरीको रामधुनी नपा, वडा नं. २, कुम्याही स्थित श्री शंकर आधारभूत विद्यालयको प्राङ्गणमा निशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । श्री जनचेतना युवा क्लव तथा जेष्ठ नागरिक समन्वय समिति रामधुनी २को संयुक्त सहकार्यमा आयोजित सो शिविरमा जम्मा ११६ जना आँखा तथा कानका समस्या भएका मानिसहरुले सेवा लिएका थिए । शिविरमा ९४ जनाले आँखा जचाएका थिए भने २२ जनाले कानको जाँच गराएका थिए । ९४ जना मध्ये २२ जनामा मोतिया विन्दुको समस्या फेला परेकोहुँदा तिनिहरुको निशुल्क शल्यक्रियाको लागि विराटनगर आँखा अस्पताल लगिएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको सो शिविरमा औषधि तथा चस्मा सहुलियत दरमा उपलब्ध गराइएको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित सो शिविर वडा बासीहरुको महत्वपूर्ण अंग आँखा तथा कानको समस्याबाट पिडित बन्न नपरोस भन्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको क्लवका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले विगतका दिनमा यसै क्लव तथा विद्यालयको संयुक्त आयोजनामा संचालन गरिएको भएता पनि निरन्तरता नपाएकोले यस कार्यक्रमलाई निरन्तर, वार्षिक रुपमा आयोजना गरी वडाबासीहरुको हेर्ने तथा सुन्ने अधिकारलाई सुनिश्चित गर्ने जानकारी दिनुभयो ।

आयोजित शिविरको उद्घाटन रामधुनी नपा वडा नं. २ का वडाध्यक्ष रामनारायण चौधरीबाट गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले शिविर आयोजना गर्ने जनचेतना युवा क्लव तथा जेष्ठ नागरिक समन्वय समितिलाई धन्यबाद दिनुभयो । जनताको हेर्नपाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न उठेका सहयोगी हाथहरु, संघ संस्था हरुलाई वडाले सधैं सहयोग गर्ने उहाँलेआश्वासन दिनुभयो ।