झुम्का, नविन कुमार चौधरी,
म्याजिक सिनेमाहल झुम्का, सुनसरीको प्रस्तुतीमा थारु चलचित्र तथा साँस्कृतिक संघको केन्द्रिय अध्यक्ष पर्शुराम चौधरीको निर्देशनमा निर्माण हुन गइरहेको थारु तथा नेपाली दुई वटा भाषामा प्रदर्शन गर्ने तयारीका साथ श्री सरस्वती पूजाको शुभ अवसरमा विहिबार शुभ मुहुर्त सम्पन्न भएको छ । थारुकल्याणकारिणी सभाहल झुम्कामा शुभ मुहुर्त गरिएको हो ।
कार्यक्रम थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रिय उपाध्यक्ष तथा फिल्म निर्माता रेनु चौधरीको सभापतित्व तथा १ नं. प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण राज्य मन्त्री विजय कुमार विशवासको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

नेपाली जनताको वास्तविक जिवनशैलीलाई पैसाले कसरी प्रभावित पार्दछ र पैसाले मानिसको व्यवहार, स्तर, इज्जत प्रतिष्ठा, मान सम्मान कसरी स्थापित हुन्छ भन्ने कुराको चित्रण गरेको निर्देशक पर्शुराम चौधरीले जानकारी दिनुभयो । पैसाले आमा बुवा, छोराछोरी, नाता गोता, आफन्तलाई पनि पराई बनाउने सन्देश यस फिल्ममा पाउने उहाँले थप्नुभयो । सो चलचित्रको सह निर्माता इटहरी १७ का पन्नालाल चौधरी रहेको छ ।
कार्यक्रम प्रमुख अतिथि लगाएत अतिथि कलाकार हरुद्धारा सरस्वती माताको पूजा गरेर उद्घाटन गरिएको थियो । मन्तव्यको क्रममा अतिथिहरुले बन्न गइरहेको यस चलचित्रको सफलताको कामना गर्दै समय सापेक्ष फिल्मको शिर्षक तथा कथा बस्तु सुहाउँदिलो र प्रभावकारी भएको जिकिर गर्नुभयो ।

शुभ मुहुर्तको रुपमा प्रमुख कलाकार नायक प्रमानन्द चौधरी, नायिका बन्दना चौधरी, अभिनेत्री जानकी चौधरी, लतिला चौधरी, हाँस्य कलाकार पाण्डव चौधरी, सुजन चौधरी तथा अग्रज कलाकार फनिन्द्र सुवेदीले अभिनय गरेका थिए । सो अभिनयमा पैसाको कारणले प्रेमी प्रेमिका, घर परिवार, आमा छोराको सम्बन्ध विथोलिएको प्रष्ट गरिएको थियो ।
अभिनयको प्रस्तुतीले आखाँ रसाएको प्रमुख अतिथि माननिय राज्य मन्त्री विजय कुमार विश्वासले यस चलचित्रले थारु समुदाय र सम्पूर्ण नेपालीहरुको जिवन शैलिमा साकारात्मक प्रभाव पार्ने र समाजमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । यस चलचित्रले सफलता पाओस र स्थानिय तथा नव उदाउदा कलाकारहरु राष्ट्रिय स्तरमा पहिचान हुन भन्ने शुभकामना दिदैं थारु लगाएत प्रत्येक आदिवासी जनजातीको कला संस्कृति जगेर्नाको लागि प्रदेशले सोच राखेको बताउनुभयो । उहाँले नेपालीहरुको साँस्कृतिक जगेर्ना तथा पर्यटन विकासमा प्रदेशले विशेष योजनाहरु अगाडि बढाइरहेकोले आ आफ्नो स्थानबाट प्रस्तावहरु पेश गर्न आग्रह गर्दै सहकार्य गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि पूर्व थाकस केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, राष्ट्रिय कलाकार एवं संगितकार, नृत्य निर्देशक देवकुमार चौधरी, वरिष्ट निर्देशक लाखमान योजन, संचार श्रोत व्यक्ति केशव सापकोटा, नेकपा जिल्ला सदस्य दिनेश चौधरी, समाजसेवी तेज नारायण चौधरी, प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव कट्टेल लगाएत विभिन्न विद्यामा ख्याति कमाएका थारु कलाकारहरुको उपस्थिति रहेको थियो ।
