झुम्का, नविन कुमार चौधरी, मंसिर १
व्यवसायीक कृषि, पर्यटन र उद्यम सहितको शहर, स्वस्थ सु–संस्कृती र प्रविधिमा आधारित समृद्ध नगर भन्ने मूल नाराका साथ रामधुनीमा युवा उद्यमशिलता तथा रोजगार मेला २०७६ लाग्ने भएको छ

रामधुनी नगरपालिकाको आयोजना तथा मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट इन्ष्टिच्यूट प्रा.लि.को साझेदारीमा सो मेला लाग्ने भएको छ । मंसिर ४ गते नगरपालिकाको छेउमा लाग्ने उक्त मेलाको प्रमुख उद्देश्य रामधुनी लगाएत सुनसरीका विभिन्न स्थानका युवा, युवतीले प्राप्त गरेको सिप सिकाईबाट प्राप्त उपलब्धी प्रबर्धन गर्ने र सम्भावित रोजगारीको बाटो अबलम्बन गर्न विभिन्न संघ संस्था तथा रोजगारदाता उद्यमीसँग सहकार्य गरि स्वरोजगार बन्न उत्प्रेरित गर्ने रहेको छ । यसै सन्दर्भमा नगरपालिकाले आइतबार मनकामना ट्रेनिङ एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि.ले प्रदान गरिएको सुनसरीका विभिन्न स्थानका महिला तथा किशोरीहरु समेतको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा ईन्ष्टिच्यूटले प्रदानगरेका विभिन्न ३२ दिने तथा १६ दिने तालिमहरु गुडिया बनाउने तालिम, हस्तसिल्पका सामाग्री बनाउने तालिम, सजावटका तालिम, टेलरिङ्ग तथा बुटिक, सेनेटरी प्याड बनाउने तालिम, व्यूटिसियन तालिम, कृष्टल तालिम लगाएतका तालिम लिएका सहभागिहरुलाई उनीहरुले तालिम प्राप्त पश्चात व्यवसायीक बनेकोमा महशुस गरिएको खुशी, गौरव, संघर्ष तथा अवसर र चुनौतिको विषयमा छलफल तथा परामर्श गरिएको थियो । छलफलको क्रममा कतिपयले तालिमको सर्टिफिकेट मात्र हाँसिलगरेको तर उद्यमशिलतामा लाग्न नसकेको कारण तथा परिस्थितिको बारेमा पनि छलफल गरिएको थियो । जसको सामाधानमा शिपबाट उद्यमी बनेका व्यवसायी तथा संस्थाका व्यक्तिहरु, नगरपालिका प्रमुख तथा उपप्रमुख, जनप्रतिनिधिहरु, उद्योगबाणिज्य संघका प्रथम उपाध्यक्ष, घरेलु उद्योगका प्रतिनिधी सहितको सहभागितामा अन्तरक्रिया गरिएको थियो । उक्त अन्तरक्रियाले सिप सिकेका तर उपयोग नभएकाको लागि संबन्धित निकाय, संघ संस्थासँग सहकार्य गर्ने, रोजगारीको अवस्था नगरले सृजना गर्ने तथा सिप लिएका युवा युवतिले पनि आफु स्वरोजगार तर्फ लम्कनुपर्ने कुरामा जोड दिइएको थियो ।
मकालु टेलिभिजनका अभय राई को सहजीकरणमा सम्पन्न सो अन्तरक्रियामा नगर प्रमुख जयप्रकाश चौधरीले नगरको समृद्धि युवाको सिप र रोजगारीमै सम्भव भएकोले विभिन्न संघ संस्था मार्फत यी कार्यक्रमहरु ल्याएको र सामुहिक रुपमा सिप सिकेका महिलाहरु नगरसँग परियोजना तथा स्वरोजगारको कुरा उठाएमा नगरले आउदो नगरसभामै बजेट विनियोजन गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मनकामना ट्रेनिङसँगै सहकार्यमा रहेका यूनेस्को नेपालका फिल्ड प्रोजेक्ट संचालक सत्यनारायण चौधरीले शिपमूलक तालिम सँगै किशोरी तथा लैंगिक समानता सम्बन्धि तालिम समेत प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो यसले शिप लिएकालाई व्यवसायीक बन्नमा थप मदत पुग्नेमा विश्वास व्यक्त गरेका थिए । त्यसैगरी यूएन वोमेनका प्रमुख काशी पोखरेल, मनकामना ट्रेनिङका खडक बहादुर धामी लगाएतले तालिमको प्रभावकारिताको लागि दोश्रो चरणका तालिमहरु, सञ्चालन गर्ने, सम्बन्धित निकाय सँग सामाग्री उपलब्ध गराउने र उद्यमी तथा व्यवसायी सँगको सहकार्यमा शिप व्यवस्थापन गरी स्वरोजगार बनाउने कुरामा जोड दिएका थिए ।