सुनसरीकोगढी गाँउपालिका वडा नं. १ मधैली स्थित जितमहान मन्दिरको प्राङ्गनमा भव्यताका साथ जितिय विशेष साँस्कृतिक कार्यक्रम भइरहेको छ ।
जितियाको महान अवसरमा आइतबार संचालित कार्यक्रम आज सोमबारपनि विशेष नाचगान सहित मनाउने स्थानिय अनन्तराम चौधरीले जानकारी दिएको छ । हिजो सम्पन्न कार्यक्रममा साविक मधैलि गाविसका विभिन्न गाँउटोलको छुट्टाछुट्टै प्रस्तुती रहेको थियो । विभिन्न समुहमा महिला दिदीबहिनीहरुले समुदायमा भइरहेको राम्रा नराम्रा पक्षहरुलाई चित्रण गरी नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका अध्यक्ष श्रीप्रसाद यादवले प्रस्तुतीको भित्रै मनबाट प्रशंसा गरेका थिए । विगतका दिनका कार्यक्रममध्ये यसपालिको कार्यक्रम सबैभन्दा उत्कृष्ट भएको बताउदै उनले विभिन्न टोलिको प्रस्तुतीबाट प्रभावित भई व्यक्तिगतरुपमा मञ्चबाटै नगद सम्मान तथा पुरस्कृत गरेका थिए ।

नाटकमा खाशगरी परिवारमा महिला पुरुष पूर्ण जिम्मेबार नहुदा परिवारमा विभिन्न समस्या उसब्जने, पुरुषहरु जाँड रक्सी तथा कुलतमा फसेर महिलाहरुले दुःख खेप्नुपरेको, महिला महिला बिचको आपसी झगडा, साँसु बुहारीको व्यवहारले परिवारमा परेको समस्या, सौतेनी आमाको व्यवहार, लगाएत सामाजिक विकृतिलाई चित्रण गरिएको थियो । अर्को तर्फ नाटकमा बर्षदिनको जितिया पर्वपनि यी सामाजिक अनमेलताका कारण एउटी चेलीले राम्ररी मनाउन नसकेको कुरालाई समेत चित्रण गरिएको थियो ।
मधैलीमा परापूर्वकाल देखीनै जितमहान भगवानको मूर्ति स्थापितगरी मन्दिरमा पुजा आरधाना गर्दै आइरहेको छ र सोही अवसरमा प्रत्येक वर्ष महिलाहरुको प्रतिभालाई प्रस्फोटन गर्ने उद्देश्यका साथ साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरिन्छ । कार्यक्रमलाई आर्थिक रुपले जयबाबा ईट्टा उद्योग तथा अनन्त ईट्टा उद्योगले सहयोग गरेको थियो ।