नेपालको पूर्व मेची देखी पश्चिम महाकाली सम्म फैलिएर रहेका कला संस्कृतिलाई संरक्षण र सम्बर्धनको लागि एक कार्यक्रमबीच प्रदशन गरिएको छ । थारु पहिचानलाई झल्काउने कोहवर तथा हस्त चित्रकलाहरु, समाचकेवा तथा पौराणिक गित संगित को बारेमा अध्ययन गरि पुस्तक प्रकाशन गर्न लागिएको छ । सुनसरी निवासी विष्णु चौधरीले पुर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहालगायत दाङसम्मका कला चित्रकला, पहिरण भेषभूषा, पौराणिक गित, झुमरा तथा धुमरा नाच, समाचकेवा लगायत विभिन्न चाँड पर्वहरुको एतिहासिकतालाई अध्ययन र अनुसन्धान गरि पुस्तक प्रकाशन गर्न लागिएको हो । उक्त अध्ययनलाई पुस्तकको रुपमा प्रकाशन गर्न लागिएकोले पुस्तकमा निहित सामग्रीहरुको जानकारीका लागि कार्यक्रममा प्रत्यक्ष रुपमा प्रदर्शन गरि थारु कलाहरुको गुण विषेशता र महत्वलाई दर्शाउने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
पुस्तक प्रकाशनलाई सार्थकता प्रदान गर्ने उद्धेश्ले व्यवहारीक ज्ञान भएका गृहीणी हरुको वृहत उपस्थितिमा सो कला प्रदर्शन गरिएको हो । वरिष्ठ कलाकार चन्द्र नारायण चौधरीको सभापतित्वमा आयोजित सो कला प्रदर्शन कार्यक्रममा थारु कलाको अध्ययनलाई पुस्तक प्रकाशनमा मुख्य भूमिका खेलेका ललित प्रज्ञा प्रतिष्ठानका उप कुलपति शारदा चित्रकारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अतिथिहरुमा ललितकला प्रज्ञा प्रतिष्ठानका वरिष्ठ कलाकार एवं पत्रकार जिवन पोखरेल (पंक्षी), कोहल बहादुर चित्रकार, थाकस जिल्ला सचिव मनोज कुमार चौधरी लगायतका जानकार व्यक्तिहरु रहनुभएको थियो ।
थारु कला संस्कृतिलाई जगेर्नाहेतु सम्पुर्ण समाज उत्तरदायी बन्नुपर्ने तर्कका साथ आफ्नो कला पहिचान भएको हुँदा यसलाई जगेर्ना गर्नु हाम्रो धर्म भएको सभापति चन्द्र नारायण चौधरीले जोड दिनुभयो आफ्नो अतितका पलहरुलाई सम्झदै विगतमा भोगेका संस्कार रितिरिवाजको अर्थ मनोज कुमार चौधरीले प्रस्ट्याउनु भएको थियो । प्रदर्शनीमा विभिन्न प्रकारका कोहवर,अस्टिमिकि, समाचकेवा, हस्तकला सामग्रीहरु प्रस्तुत गरिएको थियो । जुन कलाहरुको विस्तृत जानकारी प्रकाशन हुन लागेको पुस्तकमा परिभाषा, विषेशता र यसको थारु समुदायमा झल्काउने महत्वको बारेमा उल्लेख गरिएको पुस्तक लेखक विष्णु चौधरीले बताउनुभएको छ ।