सुनिल चौधरी
झुम्का,मंसिर १ । एैतिहासिक तथा पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा सद्बीज छर्नेहरुको भीड लागेको छ । बाला चतुदर्शिको अवसरमा सुक्रवार रामधुनी मन्दिर र बाबा वनखण्डी तपस्थलीमा पचास हजार भन्दाबढि भक्तजनहरुले सद्बीज छरेका छन् । गत बर्ष भन्दा यस बर्ष तुलनात्मक रुपमा दर्शनकालागी भक्तजनहरु बृद्धि भएको रामधुनी संरक्षित वन परिषदका अधयक्ष डिल्ली कार्किले बताए । मन्दिर र मेला ब्यवस्थापनकालागी संरक्षित वन परिषद र रामधुनी बाबा वनखण्डी मन्दिर गुठि ब्यवस्थापन समिति रहेको थियो ।
पितृहरुको मोक्ष प्राप्तिका लागि सद्बीज छर्ने चलन रहेको पाइन्छ । यस लोकमा छरेको अन्न पितृहरुको लोकमा अंकुरण हुने र सो बीजका कारण पितृहरुले कहिल्यै भोकै बस्नु नपर्ने भनाइ हिन्दू धर्मशास्त्रमा छ । मन्दिरमा बिहिवार साँझबाटनै रातभर भजन किर्तन गरी जाग्राम बसेर र बिहान सबेरै देखिनै भक्तजनले सद्बीज छरेका अध्यक्ष कार्कीले बताए । इलाका प्रहरी पकली र लालपुर प्रहरी बिटबाट रातभरीनै सुरक्षा दिएका थिए । रामधुनी मन्दिर रामधुनी वडा नं. ४ स्थित सिंगीयाको धुनीवन भित्र पर्द छ । जंगलको बिचमा रहेको मन्दिरमा दर्शन गर्न आएकाहरुलाई कुनै किसिमको घटना नहोस भनेर रातभरीनै सुरक्षमा खटेको पकलीका प्रहरी निरिक्षक अम्बर बहादुर निरौलाले बताए ।
त्रेता युगदेखि जल्न शुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै प्रशिद्ध तीर्थस्थल मानिन्छ । राम नवमी, विवाह पञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउनेको संख्या यस पवित्रस्थलमा बृद्धि भईरहेको छ ।
त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको र कथंकदाचित निभेमा धरानस्थित पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड दीपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वर मन्दिरको अखण्डदिप निभेमा रामधुनीको धुनीबाट आगो लगि सल्काउनु पर्ने परम्परा हालसम्म कायमै छ ।