सप्तरी, साउन २८ /सप्तरीको रामपुर मल्हनियाँ गाविसका एक व्यक्तिसंग कुटपिट घटनाको मुद्दा दर्ता गराई दिन्छु भन्दै पचास हजार ठगी गर्ने विचौलियालाई प्रहरीले नियन्त्रणमा लिई ठगी अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले रामपुर मल्हनियाँ-९ का नन्कु मुखियासंग मुद्दा दर्ता गर्न पचास हजार लाग्ने भन्दै ठगी गरेको आरोपमा सोही गाविस ७ का श्याम सुन्दर मुखियालाई विहिवार पक्राउ गरेको हो।
मुखियाले नन्कुसंग झगडा भएका कोइलाडी गाविस ७ बस्ने शिव नारायण मुखिया विरुद्ध कुटपिट मुद्दा दर्ता गराई दिन्छु भन्दै रकम लिएको पीडित नन्दुले प्रहरीमा उजुरी गरेपछि मुखिया पक्राउ परेका हुन्।
केही दिन अघि सामान्य वादविवादको निहुँमा नन्कु र शिव नारायाणविच कुटपिट भएको थियो। सोही घटनाको मुद्दा दर्ता गर्न भन्दै मुखियाले नन्कुसंग रकम लिएका थिए ।
प्रहरीले यस्ता विचौलियाहरुको विश्वास नगरी आफूलाई परेको पिरमर्का लिएर सिधै प्रहरी कार्यालयमा गई आफ्नो समस्या दर्शाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।