बिराटनगर,२४ साउन /बिराटनगर उपमहानगरपालिकाले तय गरेको रुट पर्मिटको नियम नमान्ने र आफूखुसी नगरमा सिटी रिक्सा चलाउन पाउनु पर्ने माग गर्दै विराटनगरका सिटी रिक्सा चालकहरु आज आइतबार विराटनगर उपमहानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् । सडक नै जाम हुने गरी आन्दोलन गर्दै आएका सिटी रिक्सा चालकहरुले यसअघि सडकमै रिक्सा तेर्साएर आवागमनमा अवरोध गरेका थिए । उपमहानगरले विभिन्न रुट बनाएर इजाजत दिएपनि त्यसलाई नमान्ने भन्दै रिक्सा चालकले अड्डी कस्दै आएका छन् । आइबार बिहान १० बजेदखि १२ बजेसम्म उपमहानगरपालिकाको प्रवेशद्वारमा २ घण्टा धर्ना दिएका थिए । चालकले नाराबाजीसमेत गरे । उनीहरुले विराटनगर–धरान सडकमा सिटी रिक्सा कुदाउन पाउनपर्ने, भित्री बाटो तत्काल मर्मत गर्नुपर्ने, रुटपरमिट खारेज गर्नुपर्ने र लाइसेन्स प्रक्रिया सहज गर्नुपर्ने माग गरेका छन् । आफ्ना माग पूरा नभए थप सशक्त आन्दोलन गर्नेसमाजवादी ई–रिक्सा संघका अध्यक्ष राकेश धमलाले बताए । रिक्सा चालकको आन्दोलनका कारण विराटनगरमा ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बन्दै आएको छ । रिक्साकै कारण हाइवेमा जामसमेत लाग्ने गरेको छ । हाइवेमा सिटी रिक्सा चलाउँदा दुर्घटनाकोसमेत निकै जोखिम बढेको छ । विराटनगरका सडकको क्षमताले समेत नभ्याउने गरी सिटी रिक्सा बिक्री भई कुद्न थालेपछि दैनिक समस्या हुन थालेको छ ।