काठमाडौं, साउन १९ – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संघीय गठबन्धनबिचको वार्ता विथोलिएको छ । मंगलबार बेलुकी अबेरसम्म भएको वार्तामा सहमति हुन नसकेपछि गठबन्धनका नेताहरुले प्रचण्डलाई मत दिन नसक्ने बताएका छन् ।
आफूहरुले उठाएको माग पूरा गर्न कांग्रेस र माओवादी तयार नभएकाले सहमति हुन नसकेको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताउनुभयो । यसअघि मंगलबार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने क्रममा गठबन्धनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको थियो ।
सहमतिको लागि बुधबार बिहान फेरि छलफल हुने नेताहरुले बताएका छन् । बुधबार बिहान शीर्ष नेताको उपस्थितिमा सहमति हुने कार्यदलका सदस्य एवम् कांगे्रस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
मंगलबार बसेको कार्यदलको बैठकले मधेस आन्दोलनको क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा गर्ने, घाइतेको उपचार र उचित क्षतिपूर्ति दिने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनेलगायत मोर्चाले उठाउँदै आएका माग सम्बोधन गर्ने र मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने प्रमुख तीन विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।