रामधुनी-भासी , साउन १३ –सुनसरीको रामधुनी-भासी नगरपालिकामा बुधवार “महिला तथा बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धि जनचेतनामुलक” कार्यक्रम सम्पन्न भएको छ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको आयोजना तथा इलाका प्रहरी कार्यालय पकली, सुनसरीको संयोजनमा रामधुनी-भासी नगरपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रामधुनी-भासी नगरापालिकाभित्रका विभिन्न संघ-संस्थाहरुमा आवद्ध महिला तथा नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो।
प्रशिक्षणकाक्रममा समाजमा हुने विभिन्न प्रकारका महिला तथा बालबालिकामाथीको हिंसाका प्रकार तथा त्यसका कानूनी उपायहरुका बारेमा बताईएको थियो। सोही क्रममा सहभागीहरुसंग प्रहरीले अन्तरकृयात्मक छलफलको माध्यमबाट उनीहरुको जिज्ञासा समेत सम्बोधन गरेका थिए।
प्रशिक्षणलाई इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक शान्ताराम कार्की, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक कृष्ण कुमारी अधिकारी, प्रहरी सहायक निरीक्षक टिकादेवी श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए।
पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घिमिरेको निर्देशनमा क्षेत्रीय प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रले स्थानीय प्रहरी ईकाईहरुको सहयोगमा विभिन्न जिल्लाहरुमा महिला तथा बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ।