झुम्का साउन १० – वर्षा र डुबानले सुनसरीको जनजीवन प्रभावित बनेको छ । सुनसरीको तनमुना र छिटाहा गाबिसमा दुई दर्जन भन्दा बढी घरहरू पानीले बगाएका छन् ।
घरमा २ देखि ३ फिटसम्म पानी जमेकाले तनमुना र छिटाहाका दलित बस्तीका दुई दर्जन घरहरू लडेको स्थानीय सज्जन ऋषिदेवले जानकारी दिनुभयो ।एता जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार डुबानले केही गोरु र गाई समेत मरेका छन् ।
गत शनिबार राति परेको अविरल वर्षाको कारण सुनसरीको अमडुवा गाविस ५ का बिजय गुरुङको गोठमा बाँधेको दुई वटा गोरु र एक वटा गाईको पानीमा डुबी मरेका हुन् ।त्यसैगरी वर्षाकै कारण अमडुवा गाविस ७ मा २२ घर, वडा नं ५ मा २७ घर, वडा नं ४ मा १४ घर धमुना खोलामा आएको बाढीले डुबानमा परेका छन् ।ट्याङ्ग्र्र्रा खोलामा आएको बाढीले अमाहिबेला गाविस ४ मा ३४ घर र अमाहिबेला ५ मा २२ घर पनि डुबानमा परेका छन् । यसैगरी पश्चिमकुशाहा ९ मा पानीको निकास नभएका कारण ११ घर डुबानमा परेका छन् । अमाहिबेला ८ मा समेत ८ घर बुढीखोलामा आएको बाढीले डुबानमा परेको जानकारी प्रहरीले दिएको छ ।